फूलैफूलको पर्व तिहारामा फूल नै नफुलेपछि
खोटाङ | कात्तिक ८, २०७९
खोटाङ । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् ।
आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लास्टिकको कृत्रिम फूलको माला खरिद गर्न बाध्य बनेका छन् । कतिपयले त्यही कोपिला बन्दै गरेका फूललाई गुच्छा बनाएर आफ्ना माइती पुज्ने तयारी गरेका छन् ।
विगत वर्षहरुभन्दा यस वर्ष बढी फूलका बिरुवा रोपिए पनि उक्त फूलहरु नफुल्दा समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी स्थानीय बासिन्दा आस्था मगरले बताउनुभयो । “आमा र मलाई गरी झन्डै एक सय ५० फूलका माला चाहिन्छ । रोपिएका फूलहरु भर्खर कोपिला लाग्दै छन्”, उहाँले भन्नुभयो, “जसरी भएपछनि माइती त पुज्नै पर्यो ? विकल्प नभएपछि चुरी (जङ्गलमा पाइने फूलका रुपमा प्रयोग गरिने एक प्रकारको वनस्पति)को माला बनाइरहेकी छु ।”
विगत वर्षहरुभन्दा यस वर्षको तिहार छिटो भएकाले पनि फूलको अभाव भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी भूमिका न्यौपानेले बताउनुभयो । “हाम्रो क्षेत्र पर्याप्त फूल पाउने क्षेत्र हो । तर यस वर्षको तिहार विगतको भन्दा अगाडि छ”, उहाँले भन्नुभयो, “गाउँभरि कसैकामा पनि फूल फुलेका छैनन् । फूल नफुलेपछि अधिकांशले बजारमा पाइने कृत्रिम फूल खरिद गरेर माइती पुज्ने तयारी गरेका छन् ।”
दस स्थानीय तह रहेको जिल्लामा लेकबेँसी कुनै पनि क्षेत्रमा यस वर्ष पर्याप्त मात्रा फूल नरहेको पाइएको छ । तिहारकै लागि भनेर व्यावसायिकरुपमा फूल खेती गर्दै आएका कृषकहरुसमेत आफूले रोपेका फूल नफुल्दा चिन्तित बनेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले फूलमा आत्मनिर्भर बनाउन विभिन्न ठाउँमा गठन भएका स्थानीय आमा समूहलाई पुष्प व्यवसाय सञ्चालन गर्नका लागि गत वर्षबाटै अनुदान दिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा आमा समूहले सञ्चालन गरेका बगैँचामा समेत पर्याप्त मात्रामा फूल नफुलेको स्थानीय बासिन्दाले बताएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले व्यावसायिकरुपमा लगाएका फूलसमेत पर्याप्त फुलेका छैनन् । जिल्लाका अन्य क्षेत्रमा लगाइएका फूल नफुलेपछि शुभम् फाउन्डेसनका विद्यार्थीले लगाएका बगैँचामा छिट्फुट फुल्दै गरेका फूल माग्नेको सङ्ख्या दैनिक सयजना भन्दा बढी रहेको फाउन्डेसनका निर्देशक सूर्यबहादुर राईले बताउनुभयो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा औपचारिक कार्यक्रमबाहेक व्यवसाय सञ्चालनका लागि अहिलेसम्म प्राकृतिक फूल खासै आयात हुने गरेको छैन । बाहिरबाट प्राकृतिक फूल आयात गरेर बिक्री गर्नका लागि जिल्लामा आवश्यक चिस्यान केन्द्र नभएका कारण नल्याइएको व्यवसायीहरु बताउँछन् ।
जिल्लामा प्राकृतिकरुपमा रोपिएका फूल नफुलेपछि स्वास्थ्यका लागि हानिकारक मानिएको प्लास्टिकको कृत्रिम फूलको मालाले यस वर्ष खोटाङमा राम्रो मूल्य पाएको व्यापारीहरुले बताएका छन् । यकिन तथ्याङ्क नभए पनि यस वर्ष जिल्लामा लाखौँको कृत्रिम फूल बिक्री भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र दिक्तेल बजार, ऐँसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानी लगायतका ठाउँमा कृत्रिम फूलले राम्रो बजार पाएको व्यापारीहरुले बताएका छन् । प्राकृतिक फूल अभावले जिल्लामा माइती पुज्नदेखि घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लास्टिकको कृत्रिम फूलको माला नै खरिद गरेको पाइएको वाणिज्य सङ्घका अध्यक्ष राईले जानकारी दिनुभयो ।
पुष्प व्यवसाय सञ्चालन गर्नका लागि जिल्लाका सबै भूगोल उपयुक्त रहेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा उत्पादन गरिने फूल राजधानी काठमाडौँलगायत अन्य विभिन्न जिल्लाहरुमा निर्यात गरेर जिल्लाको आम्दानीको स्रोतसमेत बढाउन सकिने कृषिविज्ञले बताउँदै आएका छन् ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

